फड्को मार्दै भरतपुर अस्पताल

 

Bharatpur Hospital

 

२३ भदौ, चितवन । भरतपुर अस्पतालको गुरुयोजना अन्तर्गत ‘सी’ ब्लक भवन निर्माण गर्न मन्त्रालयबाट स्वीकृति लिने प्रकृया अगाडि बढाएको छ।


अस्पतालले बहुवर्षीय योजना अन्तर्गत निर्माण गर्न लागेको भवनको काम ढिलो भएपछि छिटो निर्माणका लागि अस्पातल विकास समितिले पहल थालेको हो । अस्पतालको ‘बी’ र ‘ए’ ब्लक भवन निर्माण भएर सञ्चालनमा आइसकेको छ । अस्पतालमा बिरामीको चाप, सेवा, सुविधा थप गर्नुपर्ने अवस्था भएपछि तीन छुट्टाछुट्टै भवनको आवश्यकता अनुरुप दुई वटा भवन बनिसकेको हो । 

केही महिना अगाडि सञ्चालनमा आएको ‘ए’ ब्लक भवनमा ६ वटा अप्रेशन कक्षसहित मदन भण्डारी ट्रमा सेन्टर समेत सुरू भएको छ । अस्पतालको अन्य थप सेवा बिस्तार गर्नुपर्ने भएकाले ‘सी’ ब्लक निर्माणको अवश्यकता भएको थियो । ‘ए’ ब्लक भवन नजिकै निर्माण गर्ने तयारी भएकाले स्वीकृतिका लागि मन्त्रालयमा पहल भइरहेको अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले जानकारी दिनुभयो । 

३४ करोडको लागतमा निर्माण हुने भवन स्वीकृतिका लागि अर्थ मन्त्रालय, भवन विभागबाट केही दिनपछि स्वीकृति पाउने उहाँले बताउनुभयो । तीन तले भवनको जमिन तलामा डाइग्नोष्टिक प्रयोगशाला, पहिलो तलामा सर्जिकल वार्ड र माथिल्लो तलामा मृगौलाको डायलासिस सेवा सञ्चालन गर्ने तयारी भएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । भवन निर्माणका लागि आइतबार मन्त्रालयमा केही काम भएपछि यसको छिट्टै शिलान्यास गर्ने तयारी भएको उहाँको भनाई छ ।  

निर्माणका लागि मन्त्रालयबाट स्वीकृति आइनसकेकाले काम ढिलो भएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रुद्रप्रसाद मरासिनीले बताउनुभयो । “छिट्टै निर्माण गर्ने भनेपनि विभिन्न कारणले गर्दा ढिलाई भएको छ ” उहाँले भन्नुभयो, “हामीले गर्ने पहल गरेका छौँ।” भरतपुर अस्पतालको ‘ए’ ब्लकबाट ६ वटा अप्रेशन एकैपटक सञ्चालन भएपछि बिरामीले केही राहत पाएका छन् । 

भवनको अभावमा अन्य सेवा, सुविधा थप गर्नलाई समस्या भएको अस्पताल विकास समितिले जनाएको छ । चितवन, नवलपरासी, मकवानपुर, गोरखा लगायत छिमेकी जिल्लासहित अन्य स्थानबाट समेत भरतपुर अस्पतालमा उपचार गराउन आउने बिरामीको चाप बढेपछि सेवा थप गर्नको लागि अस्पताललाई दबाव थपिएको छ । 

दैनिक एक हजार जनाभन्दा धेरै बिरामीले अस्पतालको ओपीडी सेवा लिन थालेपछि ओपीडीलाई छिटोछरितो सेवा दिन डिजिटल प्रविधिबाट टिकट काट्ने तयारीमा अस्पताल रहेको मेडिकल सुपरिटेण्डेण्ट मरासिनीले जानकारी दिनुभयो। अहिले सञ्चालन भइरहेको ओपीडी टिकट काउन्टरमा बिरामीको चाप बढेपछि त्यसलाई बिस्तार गरेर फराकिलो स्थानबाट सेवा दिने तयारी भएको छ । 

अस्पतालको ‘सी’ ब्लक निर्माण भएपछि अहिलेको पुरानो भवन भत्काएर बगैँचा बनाउने तयारी भइरहेको छ । सबै सेवा तीन वटा भवनबाट सञ्चालनमा आएपछि अस्पतालले छुट्टै स्वरुप लिने अध्यक्ष सुवेदीले बताउनुभयो । “जनताको अस्पताल भएकाले सस्तो र सर्वसुलभ उपचार पाउने आशा सबैको हुन्छ तर सबै सेवा एउटै अस्पतालबाट दिन नसक्दा भने चिन्ता लाग्ने गर्दछ” अध्यक्ष सुवेदीले भन्नुभयोे, “भरतपुर अस्पताल आएका बिरामी अन्यत्र जान नपर्ने गरी सबै सेवा यहीँबाट दिनको लागि काम भइरहेको छ। ” 

विगत दुई वर्षमा अस्पतालले धेरै मुहार फेरेको र अस्पतालको वेवारिसे अवस्थामा भएको ‘ए’ ब्लक भवनलाई निर्माण सम्पन्न गराएर सञ्चालनमा ल्याउनु ठुलै चुनौती भएको उनले बताउनुभयो। अहिले यो भवन सञ्चालनमा आएपछि अप्रेसन, मेडिकल वार्ड, मदन भण्डारी ट्रमा सेन्टर चलेको छ । अप्रेसनको पालो महिनौँ कुर्नुपर्ने समस्या बिस्तारै घटेको छ । एकै पटक ६ वटा स्थानबाट अप्रशेन सञ्चालन भएपछि बिरामीले राहत पाएको महसुस गरेका छन् । अस्पतालको ढल व्यवस्थापन भएको, बी ब्लक र ए ब्लक जोड्ने पुल निर्माण गरेर सहजता ल्याएको उनले बताउनुभयो ।

अस्पतालको प्रसुति वार्डबाट निस्कने फोहोरलाई व्यवस्थापन गरी वायोग्यास निर्माण गरिएको विकास समितिले जनाएको छ । अस्पतालले सेवामा बिस्तार गरेसँगै बिरामीको चाप वृद्धि भएपछि मृगौला, मुटु, न्यूरो लगायतको सेवा सञ्चालन गर्नको लागि दबाव बढेको छ । सरकारी अस्पतालबाट सबै सेवा पाउन सकेमा चितवन र आसपासका बिरामीले महंगोमा उपचार गर्न काठमाडौँ जानुपर्ने बाध्यता हट्ने छ । आफ्नै जिल्लामा उपचार गर्न पाएमा थप आर्थिक बोझबाट बच्न सकिने बिरामीहरूले बताएका छन् ।



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np