About Us [Bharatpur Hospital]

पृष्ठभूमिः

आज भन्दा झण्डै ७ दशक अघि चितवन जिल्ला घना जंगल र झाडीहरुले भरिएको थियो । बाघ, भालु, हात्ती, गैंडा, विषालु सर्प, अजिङ्गर, लामखुट्टे लगायतका जंगली जीवजन्तुहरुको उपयुक्त बासस्थान थियो । गर्मी र विभिन्न रोगहरु लाग्ने डरका कारण अधिकांश समथर भूभाग भएतापनि मानव बसोबास अत्यन्त न्यून थियो चितवनमा । बाहिरी जिल्लाबाट बसाई सर्ने क्रम पनि अत्यन्त न्यून थियो । अधिकांश समथर र उर्वरा भू–भाग ओगटेको चितवन उपत्यकाको समग्र विकास गरी मानव बस्ती बसाउन योग्य बनाउने उद्देश्यले तत्कालीन सरकारले श्री कृष्णवम मल्लको अध्यक्षतामा गठन गरेको राप्तीदुन उपत्यका विकास समिति र अमेरिकी सहयोगमा २०१२ सालदेखि वृहत गुरुयोजना तयार गरी कार्य प्रारम्भ भएको थियो । यस योजना अन्तरगत जंगल तथा झाडी फडानी गरी मानव बस्ती बसाउन योग्य बनाई समथर र उर्वर भूमि वितरण शुरु भएपछि अन्य जिल्लाहरुबाट मानिसको ओइरो लाग्न थाल्यो । वनजंगल फडानीसँगै मानव बस्ती बढ्दै जादाँ नामै लिदा तर्सने औलो जस्ता विभिन्न रोगहरुको प्रकोपको मात्रा पनि घट्न थाल्यो । 

जनसंख्या बृद्धिसँगै यसै आयोजना अन्तरगत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एउटा हेल्थपोष्ट स्थापना गरी सेवा प्रारम्भ गरिएको थियो जसमा मेडिकल अधिकृतको रुपमा डा.हिरण्यदेव प्रधान र उहाँको सहयोगार्थ एक जना सि.अ.हे.ब.र अन्य दुई जना सहयोगीको दरबन्दी कायम गरिएको थियो । त्यसपछि २०१४ सालमा चितवन जिल्ला लगायत यस क्षेत्रकै आम जनतालाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ Nepal American Joint fund अन्र्तगत भरतपुरमा एउटा अस्पताल भवन बनाउने कार्य प्रारम्भ भएको थियो । अस्पताल भवनको आंशिक निर्माणसँगै शुरुमा १५ शैयाबाट सेवा प्रारम्भ गरी २०१८ सालदेखि २५ शैयामा विस्तार गरी सेवा प्रदान गरिएको थियो । अस्पतालको संचालनार्थ अमेरिकी सरकारको तर्फबाट डा. स्ट्याण्डर्ड एम.डि. र नेपाल सरकारको तर्फबाट डा. नगेन्द्रध्वज जोशी हुनु हुन्थ्यो । अन्य तालिमहरुको रेखदेखको जिम्मेवारी डा. धनकेशर क्षेत्रीलाई दिइएको थियो । २०२० पौष १४ गते तत्कालीन राजा महेन्द्रबाट विधिवत उद्घाटन भएपछि तत्कालीन USAID का प्रमुख DR Riech द्धारा उक्त अस्पतालको साँचो श्री ५ को सरकारलाई हस्तान्तरण भएपछि अस्पतालको नाम श्री महेन्द्र आदर्श चिकित्सालय, भरतपुर रहन गएको थियो । त्यसपछि Nepal American Joint Fund अन्तरगत संचालित स्वास्थ्य सम्बन्धि सम्पूर्ण कार्यहरुको रेखदेख गर्न अमेरिकी सरकारको तर्फबाट Co-director डा.स्ट्याण्डर्ड एम.डी.र नेपाल सरकारको तर्फबाट डा.दिनेशानन्द बैद्य उक्त Joint fund को Co-director  हुनुहुन्थ्यो । यसरी प्रारम्भ भएको चितवन जिल्लाको हालको जनसंख्या झण्डै ६ लाख पुगिसकेको छ भने भरतपुर अस्पतालले ४१५ शैया मार्फत यस क्षेत्रकै झण्डै ४० लाख जनसंख्यालाई विशेषज्ञ सेवा प्रदान गर्दै थप विकास र विस्तारको योजनामा निरन्तर लागि परेको छ । भरतपुर अस्पतालले स्वर्ण महोत्स समेत २०६९ सालमा मनाइसकेको छ । शूरुमा महेन्द्र आर्दश चिकित्सालयका रुपमा यस अस्पताल सञ्चालनमा रहेपछि देशमा भएको २०६२/०६३ को दोस्रो जनआन्दोलन पछि यसको नाम परिवर्तन गरि भरतपुर अस्पताल मात्र राखियो । 

जग्गाको यथार्थ अवस्था :

हाल भरतपुर अस्पतालको स्वामित्वमा ३०–११–०६ विगाह जग्गा देखिन्छ । यदि सम्पूर्ण जग्गा अस्पतालले आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सक्ने अवस्था रहेको भए यसको गुरुयोजना १०० वर्ष पछि सम्मलाई लक्षित गरी बन्न सक्थ्यो । दीर्घकालीन विकास र विस्तारको संभावनालाई दुरदर्शी भएर अनुमान गर्न नसक्ने सरोकारवाला व्यक्ति वा निकायहरुबाट विभिन्न मिति र समयमा विभिन्न संघ संस्थाहरुलाई अबैज्ञानिक र अव्यवस्थितरुपमा पर्याप्त जग्गा वितरण गरेको पाइन्छ । सडक विस्तार र सिंचाई नहर निर्माणबाट समेत धेरै जग्गा संकुचनमा परेको छ । विभिन्न संघ संस्थाहरुलाई प्रयोग गर्न दिईएका जग्गाको विवरण । 

क) College of Medical Sciences:

Aug 8, 1983 मा तत्कालिन श्री ५ को सरकार शिक्षा तथा समाज कल्याण मन्त्रालय, नेपाल र संयुक्त राज्य अमेरिकामा दर्ता भएको मुनाफा लिने उद्देश्य नभएको  चिकित्सा शिक्षा सम्बन्धि अन्तरराष्ट्रिय संस्थासँग भएको संझौता, त्यसपछि 12 Sep 1994 मा तत्कालिन Ministry of Health HMG, Nepal/ International Society for Medical Education, USA सँग भएको संझौतासँगै स्थानिय स्तरमा भरतपुर अस्पतालसँग भएका संझौताका आधारमा उक्त संस्थालाई अत्यन्त न्यून भाडा दरमा ६–१९–० विगाह जग्गा ४९ वर्षको लागि दिइएको देखिन्छ ।

ख ) School of Health Sciences :

प्रारम्भमा चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तरगत ANM कोर्षको अध्ययन अध्यापन गराउने उद्देश्यका साथ संचालित अ.न.मी. विस्तार क्याम्पसले उक्त कार्यक्रम स्थगन गरेपछि भरतपुर अस्पतालसँग कुनैपनि सम्झौता नगरी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले स्वास्थ्य शिक्षा सम्बन्धित PCL Level का केहि शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । यस सम्बन्धमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागको प.स.०३३/१–१२/६०५३ मिति २०३३।०१।२८ को पत्रानुसार जग्गाको स्वामित्व अस्पतालकै नाममा रहने गरी उक्त अ.न.मी. विस्तार क्याम्पसलाई प्रयोग गर्न दिएको देखिन्छ । हाल CTEVT ले प्रयोग गर्दै आइरहेको ६–१९–१० विगाह जमीनको भाडा तिर्ने गरेको छैन । 

ग) भरतपुर आँखा अस्पताल ः

२०४०।१०।०३ मा तत्कालिन श्री ५ को सरकारको पूर्व स्वीकृती विना बेचविखन, दानदातव्य गर्न नपाउने गरी भरतपुर अस्पतालको स्वामित्वमा रहेको ३–१७–१० विगाह जग्गा पाकिस्तान इन्टरनेशनल आई सर्भिसेजले बनाईदिने तत्कालिन श्री ५ महेन्द्र आँखा अस्पतालको लागि नेपाल नेत्रज्योति संघलाई दिने निर्णय भएको थियो । उक्त संस्थाले सो जग्गाको स्वामित्व आफ्नो नाममा हस्तान्तरण गराउन निकै प्रयत्न गरेको देखिन्छ । उक्त कार्य कपटपूर्ण थियो, त्यसैले संभव भएन । २०६८।०७।०४ मा भरतपुर आँखा अस्पतालले भरतपुर अस्पताललाई लेखेको पत्रमा “भरतपुर अस्पतालको नाममा रहेको भतरपुर आँखा अस्पतालले प्रयोग गर्दै आएको जग्गा“ भन्ने व्यहोराबाट पनि स्वामित्व हस्तान्तरण असम्भव भएको स्विकारोक्ति गरेको छ । जग्गा प्रयोग गरे वापत कुनै शुल्क वा भाडा उक्त संस्थाले तिर्ने गरेको छैन् । 

घ) साझा औषधि पसलः

२०५० साल कार्तिक २ गते भरतपुर अस्पताल र साझा स्वास्थ्य सेवा बिच संझौता भएको थियो । उक्त संस्थाले प्रयोग गर्दै आईरहेको ०–०१–१० विगाह जग्गाको सामान्य भाडा तिर्दै आइरहेको छ । 

ङ) रक्त संचार सेवा केन्द्र ः

नेपाल रेडक्रस सोसाइटीद्वारा संचालित रक्त संचार सेवा केन्द्रले भरतपुर अस्पतालको हाताभित्र २०३७ सालदेखि सेवा प्रारम्भ गरी २०४३ सालदेखि भरतपुर अस्पतालको अत्यन्तै महत्वपूर्ण स्थानमा आफै भवन निर्माण गरी सेवा संचालन गर्दै आइरहेको छ । उक्त संस्थाले प्रयोग गर्दै आइरहेको ०–०२–१० विगाह क्षेत्रफलको कुनै भाडा तिर्ने गरेको छैन । 

च) जिल्ला जनस्वास्थ्य कार्यालयः

भरतपुर अस्पतालको अत्यन्त महत्वपूर्ण स्थानको ०–१०–१० विगाह क्षेत्रफलको जग्गा जिल्ला जनस्वास्थ्य कार्यालयले निःशुल्क रुपमा प्रयोग गर्दै आइरहेको छ । जग्गा उचित संरक्षण गर्न नसकेका कारण आवश्यकता अनुसार प्रयोग गर्न सक्ने महत्वपूर्ण जग्गा खुम्चिन गई १२–००–१६ (सडक र नहरले ओगटेको जग्गा समेत) विगाहमा सिमित हुन पुगेको वर्तमान अवस्थामा अस्पतालको विकास र विस्तारमा अहिले नै अवरोध श्रृजना भएको छ । 

वर्तमान भौतिक पूर्वाधार र गुरु योजनाः

नेपालको मध्य भागमा पर्ने यस जिल्लामा वनजंगल फडाँनी गरी बस्ती बसाउने क्रमसंगै सडक, हवाई र संचार क्षेत्रको विकसित संजाल र पुहँचबाट देशका विभिन्न स्थानबाट बसाई सर्ने क्रम तिव्र हुन थाल्यो । त्यसमा पनि शिक्षा, स्वास्थ्य, कृषि पशुपंक्षीपालन, उद्योग तथा पर्यटनको क्षेत्रमा समेत विशिष्ट पहिचान बनाउन सकेबाट विभिन्न पेशा, व्यवसाय, रोजगारी, अध्ययन अध्यापन, औषधोपचार, स्थायी बसाईसराई आदिको कारणले पनि जनसंख्या बृद्धि हुने क्रम निरन्तर जारी छ । संचार क्षेत्रमा आएको अभुर्तपूर्व विकासले पनि यस जिल्लालाई देश विदेशसँग नजिक बनाउने क्रम बढ्दो छ । पर्यटकहरुको आगमन पनि उल्लेख्य हुने गर्दछ । यसरी पछिल्लो जनगणना २०६८ को नतिजा सार्वजनिक हुँदा चितवन र यस आसपासका जिल्लाहरुको जनसंख्या झण्डै ४० लाख पुगिसकेको छ । त्यतिमात्र होइन जनसंख्या वृद्धिको अनुपातमा छिमेकी जिल्लाहरुमा मानव स्वास्थ्यसँग सम्बन्धित विशेषज्ञ स्वास्थ्य सेवा प्रदायक सस्थाहरु स्थापना भइनसकेका कारण पनि भरतपुर अस्पतालको सेवा लिनुपर्ने बाध्यात्मक परिस्थिति कायमै छ । संरक्षित वनजंगल क्षेत्रमा पाइने हिंस्रक जीवजन्तुको टोकाई र आक्रमण, बाढी, पहिरो, आगजनी तथा प्राकृतिक प्रकोप, सबैखाले दुर्घटना, सामाजिक चुनौतीका रुपमा रहेका डेंगु, इन्फ््ल्युञ्जा, एच.आई.भी., एड्स, टि.बी., कुष्ठरोग, रेविज लगायत आदिबाट प्रभावित बिरामीहरुको रोग निदान, उपचार र नियन्त्रणको लागि आवश्यक उपचार र परामर्श लगायतका सेवा समेत यस अस्पतालको जिम्मेवारी बनेको छ । 

स्वास्थ्य सेवा जनसाधारणको लागि अत्यावश्यक सेवा भएकोले आर्थिकरुपमा विपन्न वर्गहरुको समेत पहुँच पुग्ने गरी अस्पतालहरुको भौतिक पूर्वाधार विकास, शैया क्षमतामा विस्तार, दक्ष जनशक्तिको समुचित व्यवस्थापन तथा रोग निदान र उपचारमा आवश्यक पर्ने अत्याधुनिक औजार उपकरणहरुको पर्याप्त व्यवस्था मिलाउनु राज्यको दायित्व हो । तर त्यस अनुरुप आवश्यक योजना र पर्याप्त बजेट व्यवस्था हुन नसकेको तितो यथार्थता सबैका सामु छर्लङ्ग छ ।

योजना विहिन ढंगले मेडिकल सिटीको रुपमा देखा परेको यस जिल्लामा क्यान्सर अस्पताल, आँखा अस्पताल, शिक्षण अस्पतालहरु लगायत निजी लगानीमा दर्जनौ विशेषज्ञ सेवा सहितका स्वास्थ्य संस्थाहरुले सेवा पु¥याइरहेको विद्यमान अवस्थामा एकमात्र सरकारी अस्पतालले पुराना र जीर्ण भवनहरुबाट जतिसुकै सर्वसुलभ र गुणस्तरीय विशेषज्ञ सेवा प्रदान गरिरहेको भएतापनि आर्थिक रुपमा विपन्न, गरीब असहाय र अशक्त विरामीहरु मात्र भरतपुर अस्पतालका बास्तविक सेवाग्राही हुन, आर्थिक रुपमा सम्पन्न व्यक्तिहरु प्रतिष्ठाको लागि पनि भरतपुर अस्पतालमा जाँदैनन् भन्ने गलत मानसिकतामा परिवर्तन ल्याउन पनि समयसापेक्ष सुधार गर्दै जानु अहिलेको अपरिहार्य आवश्यकता हो । साधनश्रोत सम्पन्न आधुनिक भवनहरु, अत्याधुनिक औजार उपकरणहरु र थप सेवा विस्तारको लागि आवश्यक दक्ष जनशक्तिको समुचित व्यवस्थापन गरी आफ्नो प्रतिष्पर्धी क्षमतामा वृद्धि गर्नु समयको माग हो यस क्षेत्रकै आम जनताको आशा र भरोशाको धरोहर भरतपुर अस्पतालको सामयिक विकास र विस्तारको अपरिहार्यतालाई आत्मसात गर्दै समाजसेवी नर बहादुर खाँडको अध्यक्षतामा रहेको अस्पताल विकास समितिले २०६० सालमा न्यूनतम ५०० शैया संचालन गर्न सकिने गुरुयोजना तर्जुमा गरेको थियो । उहाँकै कार्यकालमा गुरुयोजना अन्तरगतको B Block भवन निर्माण कार्यको प्रारम्भ भएको थियो । उक्त भवन निर्माण सम्पन्न भई सेवा संचालनमा आइसकेको छ भने A Block भवन निर्माण पनि अन्तिम चरणमा पुगेको छ । A Block भवन निर्माण लगायत थप सेवा विस्तार संभव बनाउन तत्कालिन मे.सु.डा.केशवराज भुर्तेलको सक्रियतालाई विर्सनु अन्याय हुनेछ । गुरु योजनाले परिकल्पना गरेको भौतिक पूर्वाधार निर्माणको अन्तिमरुप देहाय वमोजिम हुनेछ । 

सुविधा सम्पन्न अस्पताल भवनहरुको संख्या ६ हुनेछ । 

क) A Block बिच भागमा निर्माण हुने सबभन्दा अग्लो भवन A Block मा अप्रेशन कक्ष, ICU, Post Operative Up Ward, Library  लगायत आवश्यक अन्य कक्षहरु रहने छन् । 

ख) B Block : A Block  जोडिने यस भवनको निर्माण कार्य सम्पन्न भई स्त्री तथा प्रसुती र वालरोग विभाग मार्फत सेवा प्रवाह भइसकेको छ भने NICU लगायतका थप सेवा निकट भविष्यमै संचालनमा ल्याउने गरी कार्य भइरहेको छ । 

ग) C Block :  विभिन्न रोगहरुको निदानलाई आवश्यक पर्ने प्रयोगशाला, एक्स–रे, CT Scan, USG, MRI, ECO, ECHO, ECG, Audio gram, Endoscopy Colonoscopy,  आदि र Surgical Ward लाई आवश्यक कक्षहरु रहनेछन् । यी तिनवटै भवन एक आपसमा जोडिने र आवश्यकता अनुसार थप २ तला थप्न सकिने गरी डिजाइन गरिनेछन् । 

घ) Emergency Block : एकैपटक ठूलो संख्यामा आउन सक्ने विरामीहरुको संभावनालाई मध्यनजर गरी ५० जना अट्न सक्ने एउटा ठूलो हल, न्यूनतम २५ शैयाको सुविधा सम्पन्न आकष्मिक कक्ष र माइनर ओ.टी.लगायतका कक्षहरु निर्माण हुनेछन् । 

ङ) OPD Block : हाल प्रयोगमा रहेको भवनसँगै जोडेर अर्को भवन निर्माण हुनेछ । सम्पूर्ण विषयका विशेषज्ञ चिकित्सकहरुको लागि विशेष कक्षहरुको साथै Minor OT लगायतका  अति आवश्यक अन्य कक्षहरु रहनेछन् । 

च) Administrative Block : यस भवनको भुई तलामा न्यूनतम २०० जना अट्न सक्ने सुविधा सम्पन्न सभाकक्ष र Store (भण्डार)तथा माथिल्लो तलामा प्रशासन,लेखा तथा विकास समितिको लागि आवश्यक कक्षहरु रहनेछन् । 

यसका अतिरिक्त अस्पताललाई नभइनहुने भोजनालय, आधुनिकLaundry, Oxygen Plant, Maintenance, संक्रामक फोहोर व्यवस्थापनको लागि Autoclave (इन्सिनेटर) ,Biogas Plant,धर्मशाला, शवराख्ने र परिक्षण गर्ने तथा सुरक्षा Post को लागि आवश्यक पर्ने छुट्टाछुट्टै भवनहरु निर्माण गरिने छन् । साथै करिब ३ लाख लिटर क्षमताको Over Head Water Tank  समेत निर्माण हुनेछ ।

कर्मचारी आवास गृहः 

अस्पताल प्रमुख र विभागीय प्रमुखहरुको लागि छुट्टाछुट्टै आवास गृहहरु बन्नेछन् । अन्य चिकित्सकहरुको लागि ६ परिवार रहन सक्ने ६ वटा भवनहरु बन्नेछन् । अन्य स्वास्थ्य प्राविधिकहरुको लागि आठ परिवार रहन सक्ने ६ वटा भवनहरु हुनेछन् । परिचारिकाहरुको लागि ७५ परिवार बस्न सक्ने भवनहरु निर्माण हुनेछन् । श्रेणी विहिन कर्मचारीहरुको लागि १२८ परिवार बस्न मिल्ने ४ भवनहरु निर्माण हुनेछन् । आवास गृहसँगै ४ वटा पाहुना घरहरु हुनेछन् । कर्मचारीहरुको मनोरञ्जन तथा खेलकुदहरुको लागि आवश्यक भवन, कोर्टहरु र खेल मैदान हुनेछन् । कर्मचारीका साना बालबच्चाहरुको अध्ययन र मनोरञ्जनको लागि स्कुल र मैदान हुनेछ कर्मचारीहरु र उपचारको क्रममा आउने अन्य सम्पूर्ण व्यक्तिका सवारी साधन पार्क गर्न छुट्टाछुट्टै पार्किङ्ग स्थल हुनेछन् । अस्पताल भवन र अन्य भवनमा आउने जाने खुल्ला बाटोमा छाना हालिएको हुनेछ । अस्पताल परिसर तथा आवास गृह वरिपरिका बाटोहरु पिच गरिएको हुनेछन् । वातावरणीय स्वच्छताको लागि वृक्षारोपण तथा हरियालीयुक्त ग्रीनपार्क (बगैचा) बन्नेछ । बाहिरी सडकसँग जोडिएको सम्पूर्ण स्थानमा व्यापारिक प्रयोजनका आयमुलक भवनहरु निमार्ण गर्ने गरी पर्याप्त जग्गा छुट्याइएको छ । 

नर्सिङ्ग कलेज ः 

यस अस्पतालले शैक्षिक विभाग गठन गरी त्यसको मातहतमा आवश्यक नीति नियम तथा निर्देशिका तर्जुमा गरी विभिन्न संकाय मार्फत स्वास्थ्य सम्बन्धि शैक्षिक कार्यक्रमहरु संचालन गर्नेछ ।प्रारम्भिक चरणमा PCL नर्सिङ्ग र क्रमश Bachelor तथा Master Nursing  तह लगायतकास्वास्थ्य शिक्षा सम्बन्धि विभिन्न कार्यक्रमहरु संचालन हुनेछन् । त्यसका लागि आवश्यक पर्ने कक्षाकोठा, प्रयोगशाला, प्रशासनिक भवन, छात्रावास, आवासगृह आदि भवनहरु निर्माण गरिने छन् । 

शैया क्षमता र विस्तारको क्रमः

सरकारको तर्फबाट बस्तुगत आवश्यकता र विरामीको चापका आधारमा पर्याप्त शैया र शैया संख्याको अनुपातमा आवश्यक दक्ष जनशक्तिको दरवन्दी र बजेट व्यवस्था हुन नसकेकै कारण अत्यधिक विरामीको सेवागर्न बाध्य भरतपुर जस्ता सरकारी अस्पतालहरु व्यवस्थापन खर्चको वृद्धिका कारण आर्थिक संकटबाट ग्रस्त छन् । अनौपचारिक रुपमा १५ शैयाबाट शुरु भएको यस अस्पतालको शैया विस्तारको क्रम पछिल्लो पटक Gastro / Lever Unit  मा शैया वृद्धि गरेपछि ४३५ पुगेको छ । सरकारको तर्फबाट शैया विस्तारको क्रम देहाय वमोजिम रहेको छ । 

२०१८ सालमा २५ शैया

२०४० सालमा ५० शैया 

२०५० सालमा १०० शैया

२०६१ सालमा १५० शैया

२०६७ सालमा ३०० शैया

हाल संचालनमा ४३५ शैया 




eProcurement System

You can view and apply tenders through eProcurement system.

ADDRESS

  • Address: Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    hospitalbharatpur@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056-520111

IMPORTANT LINKS