भरतपुर अस्पतालको सांगठनिक संरचना र दरबन्दी विवरण

अस्पतालको सामान्य परिचय

भरतपुर अस्पतालको इतिहास हेर्दा वि.सं. २०१३ सालमा राप्ती दुन उपत्यका विकास समिति अन्तर्गत हेल्थ पोष्टको रूपमा स्थापित भएको देखिन्छ र सो हेल्थ पोष्टका प्रथम मेडिकल अधिकृत डा. हिरण्यदेव प्रधान हुनुहुन्थ्यो। वि.स. २०१४ सालमा चितवन जिल्ला लगायत यस क्षेत्रकै आम जनतालाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ अस्पताल भवनको आंशिक निर्माणसँगै शुरुमा १५ शैयाबाट सेवा प्रारम्भ गरी २०१८ सालदेखि २५ शैयामा विस्तार गरी सेवा प्रदान गरिएको थियो। यस अस्पताल वि.सं. २०२० पौष १४ गते राजा महेन्द्रबाट उद्घाटन पश्चात् महेन्द्र आदर्श चिकित्सालयको रूपमा नामाकरण भएको थियो। सुरूवाती चरणमा १५ शैयाबाट सेवा प्रारम्भ गरिएको, वि.सं. २०४० मा शैया वृद्धि गरी ५० शैया क्षमतामा सञ्चालन गरिएको, वि.सं. २०५० मा ५० शैयाबाट बढेर १०० शैया क्षमतामा सञ्चालन भएको, वि.सं. २०६१ मा १५० शैया क्षमतामा संचालन भएको, वि.सं. ०६२/०६३ को ऐतिहासिक जन आन्दोलनपछि यस अस्पतालको नाम महेन्द्र आदर्श चिकित्सायलबाट परिवर्तत भई भरतपुर अस्पताल रहन गएको थियो। वि.सं. २०६७/०७/०८ मा नेपाल सरकार मन्त्री परिषद्‌को निर्णयबाट ३०० शैयाको स्वीकृती प्राप्त गरी अस्पताल विकास समितिबाट ३०० शैया थप गरिएको र हाल ६०० शैयामा सञ्चालनमा आईरहेको छ। नेपाल सरकार (सचिवस्तर) को मिति २०७५ श्रावण ६ गतेको निर्णयअनुसार अस्पताललाई प्रदेश सरकार अन्तर्गत राखी सञ्चालन गरिएको थियो, मिति २०७५/११/३ को मन्त्री परिषद्‌को निर्णयबाट विशिष्ट विषेशज्ञ अस्पतालमा स्तरोन्नती भई सङ्घीय सरकार अन्तर्गत राखिएको र सोही बमोजिम संचालनमा रहेको छ। वि.सं. २०७९ साल कार्तिक १७ गते देखि आकस्मिक कक्षलाई स्तरोन्नती गरी ५० शैयाको बनाइ संचालन भइरहेकोमा मिति २०८२/८/२१ गते माननीय मन्त्री श्री सुधा गौतमज्यूबाट २० शैयाको ट्रमा सेन्टरको उद्घाटन भई हाल सुविधा सम्पन्न भवनबाट यसको कार्य सुरुवात हुदैछ।

मालपोत कार्यालय भरतपुर, चितवनको श्रेस्ता र लालपुर्जा अनुसार भरतपुर अस्पतालको नाममा साविक भरतपुर उ.प.म.न.पा वडा.नं ५, नक्सा ५ ग, कित्ता नं. १२ मा जग्गाको क्षेत्रफल ३०-११-६-० विगाहा भरतपुर अस्पतालको नाममा रहेको छ। विभिन्न मिति र समयमा विभिन्न संघ संस्थाहरु संचालनको लागी यस भरतपुर अस्पतालको जग्गा उपलब्ध गराइएको छ। सडक विस्तार समेत धेरै जग्गा संकुचनमा परेको अवस्था छ। सरकारको तर्फबाट शैया विस्तारको क्रम देहाय वमोजिम रहेको छ।

  • २०१८ सालमा २५ शैया
  • २०४० सालमा ५० शैया
  • २०५० सालमा १०० शैया
  • २०६१ सालमा १५० शैया
  • २०६७ सालमा ३०० शैया
  • हाल संचालनमा ६०० शैया

संघीय अस्पतालका रुपमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत रहि यस अस्पताल हाल ६०० शैयामा संचालनमा रहेको छ। नेपाल सरकारको १५० शैया र १७५ जनाको मात्र दरबन्दी स्वीकृत रहेको छ। केही जनशक्ति नेपाल सरकारले संचालन गरेका कार्यक्रमहरुमा कार्यरत रहेका छन् अस्पताल विकास समितिबाट अन्य कर्मचारी कार्यरत रहेका छन्।